ताजा समाचार

उद्योगीहरुसँग प्रधानमन्त्रीले भने, ‘जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको बताएका छन् ।

निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँगको भेटमा उनले नेपाली नागरिकको जीवन बचाउन सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।

निजी क्षेत्रका नेतृत्वसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री निवास बालुवाटारमा नीजि क्षेत्रका नेतृत्वकर्ताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड- १९)को अवस्थाबारे सरकारले गरिरहेका कामबारे व्याख्या गरेका हुन् । ‘नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गर्नुभयो ।

प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्नुभयो,’ बैठकमा प्रधानमन्त्रीले राखेका विषयबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्नुभयो । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उहाँको तर्क थियो ।’

प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाइ साझा रहेको बताएको थापाले उल्लेख गरे । ‘कोरोना विरुद्धको लडाई साझा हो । यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ,’ प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै थापाले भने ।

स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराएको पनि बताइएको छ । कोरोनाबारेका सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित पारेको पनि प्रधानमन्त्रीको भनाइ रहेको थापाले जानकारी दिए । ‘कोभिड -१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आंतकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उहाँले निर्देशित दिनुभयो । कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो,’ थापाले भनेका छन् ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव दिएको थापाले जानकारी दिए । उनीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट पारेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org