ताजा समाचार

मन्त्री भट्टलाई नै प्याज व्यापारीले ठगेपछि…

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे ।

उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्‍न खोजे तर व्यापारीले सजिलै चिने ।

उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । त्यहाँ गएर सोध्नुस् न ।” त्यसपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क थियो । नजिकै सुरक्षाकर्मी पनि थिएनन् ।

मन्त्रीले प्याज किन्‍न गोजीबाट पैसा झिके । ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँसम्म व्यापारीले लिए । उनले एक पसलबाट मात्रै होइन, २/४ पसलबाट प्याज किने । मन्त्री भट्टले  भने, “मैले ५०/६० किलोसम्म प्याज आफैंले खरिदें । उनीहरुले चिनेनन् । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । मैले स्थानीय प्रहरीसँग भने समन्वय गरेको थिएँ ।”

यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।

तर एकैपटक स्टक रहेको प्याज सकिने अवस्था नरहेको र सस्तोमा किनेको प्याज महँगोमा बेच्‍न थालेपछि आफू अनुगमनमा निस्किएको मन्त्री भट्टले बताए । अनुमगनका क्रममा बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org