ताजा समाचार

शिक्षामन्त्रीले शनिबार मात्रै प्रधानमन्त्रीलाई भेटेका थिए

काठमाडौं । आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिजामणि पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।

डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए। वार्ता टोली गठनदेखि केसीसँगको सम्वादका क्रममा उनी शिक्षा मन्त्रालय, त्रिवि शिक्षण अस्पताल र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए।

बालुवाटारमै असहज बिहीबार र शुक्रबार भएको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहित शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए त्यहाँ पुगेर उनले प्रमसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए।

त्यसक्रममा उनलाई बालुवाटारमै असहज भएको थियो। प्रधानमन्त्रीसँगको संवादकै क्रममा असहज भएपछि उनी त्यहाँबाट सीधै मन्त्री निवास पुल्चोक पुगेका थिए।  शिक्षा मन्त्रीका सचिवालय सदस्य विनोद न्यौपानेका अनुसार पोखरेलले निवासमा पुगेर ज्वरो कम गर्ने औषधि पनि लिएका थिए। तर त्यहाँ लिएको औषधिले काम नगरेपछि उनी आवश्यक परामर्शका लागि पाटन अस्पताल पुगेका थिए।​

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पोखरेललाई चिकित्सकले शनिबारै स्वाब लिएर निगरानीमा राखेका थिए। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै बसेका उनमा शनिबार कोरोना पुष्टि भएको न्यौपानेले जानकारी दिए।

यो साता मन्त्री पोखरेल सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, तथा सदस्यहरु स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मासँग निरन्तर संवादमा थिए।  केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

मन्त्री पोखरेलले केसीको ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य उच्च अधिकारीसँग सम्वादमा सक्रिय हुँदा धेरैजना कन्ट्याक्ट ट्रेसिङमा पर्ने भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org