ताजा समाचार

गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?

काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै कांग्रेस सांसद गगन थापालाई प्रतिप्रश्न गरेका छन्।

‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘एक दिनमा ३ सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’

आजकै बैठकमा कांग्रेस सांसद थापाले सरकारले कुनै हिसाब-किताब विनै शिलान्यास गरेर तामासा देखाएको अरोप लगाएका थिए।

बिना कुनै डिपीआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै थापाले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए । थापाले भनेका थिए, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला ।’

त्यसको जवाफ दिँदै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न चुनौती समेत दिए ।

‘१ सय ५६ वटा निर्वाचनसँग सम्बन्धित सडकहरू रणनीतिक सडकहरू शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,’ थापाको नाम नलिकनै बस्नेतले भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’

संसदमा प्रधानन्त्रीको अनुपस्थिति रहेको भन्ने प्रश्नको पनि बस्नेतले जवाफ दिए ।

उनले प्रधानमन्त्री तीनपटक संसद बैठकमा आइसकेको जानकारी समेत गराए । उनले भने, ‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो । २३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो । तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो ।’

प्रधानमन्त्री आउँदा बैठक बस्न आलटाल गरेको अरोप समेत उनले लगाए । उनले भने, ‘जुन दिन प्रधानमन्त्री बैठकमा आउनुभयो, त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने, आलटाल गर्ने ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org