ताजा समाचार

दार्चुला तुइन प्रकरण : सरकारी छानबिन टोली दार्चुलाबाट फर्कियो

काठमाडाैँ । गत साउन १५ गते महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षाा बल (एसएसबी)ले डोरी फुकाइदिएपछि खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको छ । टोलीमा सुदूरपश्चिम प्रदेशका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले छानबिनको काम सकेर गृहको टोली फर्किएको जानकारी दिए । ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका–२ का जयसिंह धामीको परिवार, तुईनको डोरी फुकालिएको भनिएको भारततिरको भू-भाग लगायत अन्य सरोकारावाला पक्षसँग भेटघाट गरेर छलफल गरेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

गृहको टोली दार्चुलाबाट फर्किए पनि बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्ने काम भने बाँकी रहेको छ । छानविन टोलीले ति क्षेत्रहरुको समेत निरीक्षण गर्ने प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

गत १५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । उनको खोजीका लागि तिनै तहका सुरक्षा निकाय, स्थानीय र आफन्तहरु लागेको भएपछि अहिलेसम्म धामीको कुनै पत्तो लागेको छैन । यता परिवारले भने कुशको शव बनाई धामीको दाह संस्कार गरिसकेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org