ताजा समाचार

केन्द्रीय समितिअघि आगामी महाधिवेशनबारे रणनीति तय गर्दै देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू बुधबार बिहानै बुढानीलकण्ठ पुगेका छन् ।

दिउँसो कांग्रेस पदधिकारी (शीर्ष नेता)हरूको बैठक बस्‍ने भएपछि अहिले देउवा पक्षका केही नेताहरू बुढानिलकण्ठमा भेला भएका हुन् । बिहीबार बस्‍ने कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप यो बैठक तय भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खढ्काले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा महाधिवेशन र सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने भएकोले पूर्व तयारी गर्न आज बैठक बस्न लागेको बताइएकाे छ । भदौमा महाधिवेशन गर्न दबाबमा रहेका देउवा त्यसलाई टारेर म‌ंसिर पुर्‍याउने ध्येयमा छन्।

देउवाले अब केहीबेरमा चल्ने बैठकमा सरकार संचालन, मन्त्रिपरिषद् विस्तारमा गठबन्धनको हडललगायतका विषयमा छलफल गर्दै आफू निकटका नेताहरूको राय लिने बताइएको छ ।

छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्का, प्रकाशशरण महत, रमेश लेखक, नारायण खड्कालगायत रहनेछन् । उक्त बैठकपछि दिउँसो भने रामचन्द्र पौडेल र शशांक कोइरालासहितको बैठक बस्नेछ ।

प्रधानमन्त्री भएपछि उनले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नगर्ने भने अनुसार उनी पार्टी कार्यालयभन्दा देउवा निवासमा गएर छलफल गर्न लागेका हुन । उनले पार्टीको अधिकांश बैठक देउवा निवासमा नै छलफल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org