ताजा समाचार

नेपाल एयरलाइन्सको स्पष्टीकरण– यस कारण रुकुमका यात्रुलाई नेपालगन्ज अवतरण गराइयो

काठमाडौं । नेपाल वायुसेवा निगमले व्यवस्थापनको निर्णयानुसार नै रुकुमका लागि उडाइएको जहाज नेपालगन्ज अवतरण गरिएको जनाएको छ ।

गएको सोमबार काठमाडौंबाट रुकुमका लागि उडेको जहाज नेपालगन्ज अवतरण गराइएको सार्वजनिक भएपछि निगमले त्यसबारे स्पष्ट पार्दै व्यवस्थापनको निर्णयानुसार नै नेपालगन्ज अतवरण गराइएको जनाएको छ ।

उक्त दिनका लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको भन्दै निगमले यसबारे स्पष्ट पारेको हो ।

निगमका अनुसार आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५ः१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो । तर, मौसम प्रतिकूलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान दिउँसो २ः१५ बजेका लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो ।

त्यसपछि विमान चालक/परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर, उडान रद्द भएर घर फर्किएका यात्रुहरूलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा दिउँसो २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजेदेखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।

हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेका कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगम मिडिया सेल संयोजक अर्चना खड्काले बताइन् । रुकुम र नेपालगन्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगन्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटेलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि भएको जनाइएको छ ।

निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्यनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको र निगमसँग विमानको न्यूनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरूप उक्त निर्णय लिनुपरेको जनाएको छ ।

निगमले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org