ताजा समाचार

शिक्षामन्त्री र केएमसी प्रिन्सिपलबीच सवाल-जवाफ: बढी शुल्क लिएको पाइए सम्बन्धन खारेज गर्ने चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका बेला आज शिक्षामन्त्री देवेन्द्र पौडेल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अनुगमनमा पुगेका छन् ।

उनले तोकिएभन्दा बढी शुल्क लिएको प्रमाणित भए कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिए ।

शिक्षामन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठलाई केएमसीले बढी शुल्क लिएको व्यापक गुनासोपछि आफू आएको बताए । मन्त्रीले ‘पीडित विद्यार्थीले कलेजले बढी फी लिएको उजुरी मन्त्रालयमा दिएपछि म यहाँ आएको हुँ’ कलेजका प्रिन्सिपलले उनीसँग बढी रकम असुल नगरेको दाबी गरे ।

उनले मन्त्री पौडेललाई बुँदागत रूपमा कुन शीर्षकमा कति बढी रकम लिएको प्रमाणित गर्न चुनौती दिए । उनले भने,‘हामीले बढी शुल्क लिएका छैनौं । चिकित्सा शिक्षा आयोगको ऐनमा नै समस्या छ । ऐनले होस्टल अनिवार्य नभनेको भए हामी पनि होस्टल अनिवार्य गर्दैन थियौं । विद्यार्थीबाट यो विषयमा बढी शुल्क लियो भनेर देखाउन चुनौती दिन्छौं ।’

मन्त्री पौडेलले भने दुवै पक्षलाई फीसम्बन्धी कागजात अध्ययन गरी भोलि बिहान १० बजेसम्म मन्त्रालयलाई रिपोर्ट बुझाउन सीडीओलाई निर्देशन दिएका छन् । उनले भने, ‘हामीले बढी शुल्क लिएको प्रमाण भेटियौं भने हामी ऐनअनुसार कारबाही गर्छौं ।’

चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै बुधबार मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको थियो ।

केएमसी विद्यार्थीहरूले केही दिनदेखि आयोगले तोकेको भन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org