ताजा समाचार

जम्कट्टेलले आज विश्वासको मत लिँदै, विपक्षमा एमाले र राप्रपा

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारमा रहेको नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चार जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरिएको बुझिएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भए पनि केही ढिलो हुने सम्भावना छ । आजै विश्वासको मत लिने र आजै नेपाली कांग्रेसबाट एक जना भए पनि मन्त्री नियुक्त गर्ने तयारीसमेत छ  । मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले विश्वासको मत दिनेछन् । सरकारको विपक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी रहने छन् । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी गर्दै आउनु भएको थियो ।

तर, मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना कमजोर बनेको छ । बरु मन्त्री कसलाई पठाउने भन्ने छलफलमा कांग्रेस रहेको छ ।नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र संसदीय दलका नेता लामा बीचमा मन्त्री कसलाई बनाउने भन्ने विवाद भएपछि संसदीय दलको बैठक नै काठमाण्डौमा केन्द्रीय नेताहरुको उपस्थितिमा राखेर मन्त्री तय गर्न लागिएको बुझिएको छ ।तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org