ताजा समाचार

आईसीसी क्रिकेट विश्वकप छनोट: वेस्ट इन्डिजविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा मध्यन्ह १२ः४५ बजेदेखि सुरु हुने खेलका लागि भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

नेपालले पछिल्लो पाँच खेलमध्ये एक खेलमा मात्र हार बेहोरेको छ । वेस्ट इन्डिज पनि पछिल्लो पाँच खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ । आजको खेलमा जित निकाल्ने टिमले छनोटको सुपर सिक्सको यात्रा लगभग निश्चित गर्नेछ ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसैवर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org