ताजा समाचार

एसीसी यू-१६ इस्ट जोन कपः नरेनको शतकमा मलेसियालाई २५३ रनको लक्ष्य

काठमाडौँ । नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले एसीसी यू१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको छ ।

नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०।५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।
बायुमास ओभल मैदानमा नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सुर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सुर्यांशु दुइ चौका प्रहार गरि २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।

दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केहि समय दबाबमा परेको थियो । यहीँबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org