ताजा समाचार

सुन काण्डकाे प्रतिवेदन बुझाउनुअघि पत्रकार सम्मेलन गर्दै सीआईबी

काठमाडाैँ । हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

मङ्गलबार प्रतिवेदन तयार पारेको सीआईबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताइन् । आरोपीहरूविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी गरेको पनि उनले बताइन् ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।

उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सीआईबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ ।

त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org