ताजा समाचार

मतदातालाई धन्यवाद दिन निर्वाचनको एक वर्षपछि घरदैलो गर्दै रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको एक वर्षपछि घरदैलो गर्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो।

‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ,’ रास्वपाले विज्ञप्तिमा भनेको छ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० स्थान जितेको थियो। वैशाख १० गतेको उपनिर्वाचनमा एक सिट जितेर २१ स्थान पुर्‍याएको थियो।

त्यस्तै बैठकले केन्द्रीय सदस्य मोहनबहादुर थापाले केन्द्रीय समितिमा नरहन दिएको निवेदन सदर गरेको छ।

‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरूमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्‍याउने कार्य भएको भनी थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ,’ रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ।

बिहीबारको बैठकले वडा अधिवेशन आयोजक समिति गठनसम्बन्धी विधि र प्रक्रिया तय गरेको रास्वपाले बताएको छ।

‘पार्टीको महाधिवेशन विधिसम्बन्धी थप छलफलका लागि मंसिरको ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय भएको छ,’ रास्वपाले भनेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org