ताजा समाचार

बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा अवरोध भएको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ ।

पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।यसैबीच मध्यहाडी राजमार्गअन्तर्गतको गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।यस्तै, भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । यस्तै कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे ९भट्टेडाँडा नजिक० मा पनि पहिरो गएको छ ।

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा अहिले आवतजावत ठप्प छ ।

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org