ताजा समाचार

सिमलताल दुर्घटनाका १५ शव भेटिए, भारतीय क्षेत्रसम्म खोजी केन्द्रित गरिँदै

काठमाडौं । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस र यात्रुको खोजीका क्रममा मंगलबारसम्म १५ वटा शव भेटिएका छन् । अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ । भरतपुर महागनरपालिका-२९ सिमलतालस्थित सडकबाट २ वटा बस पहिरोसँगै त्रिशूलीमा खसेको आज ५ दिन भइसकेको छ ।

गत शुक्रबार बिहान ३ बजे दुईवटा बस त्रिशूलीमा खसेपछि अहिलेसम्म अवस्था खुल्न सकेको छैन । तर उक्त बसमा रहेकामध्ये १५ यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर तल नारायणी किनारमा भेटिएका छन् ।

अन्य शवलाई पनि नारायणीले उतार्ने अनुमानसहित खोजीका लागि सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । सीमा क्षेत्रनजिक नारायणी नदीमा शव भेटिएपछि बगाएर भारत लान सक्ने आकलनका आधारमा त्यतातर्फका जिल्लामा समन्वय गरे खोजी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको छ । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए ।

नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारीसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए ।

सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिक कुरा गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।

यही असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए । बाँकी ६२ जना बेपत्ता थिए । मंगलबारसम्म १५ जनाको शव फेला पारेका छन् । घटनाबारे अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ । उक्त कार्यदल बुधबार सिमलताल जाने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org