ताजा समाचार

नेपालको संसद्‍मा बंगलादेशका हिन्दूमाथि आक्रमणको विरोध

काठमाडौं । बङ्गलादेशमा पछिल्लो समय अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले मंगलबार संसदमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरुमाथि भएको आक्रमणको विषय उठाएका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको क्रुर र पाशविक आक्रमणको निन्दा गर्दै सरकार यसमा मौन रहेकोमा दुःख व्यक्त गर्छु ।’ केसीले बङ्लादेशमा भएको ‘कू’ को मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । ‘बङ्गलादेशमा भएको पछिल्लो घटनाको मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध नै हो,’ उनले भने ।

सांसद केसीले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए । बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको मुद्दा नेकपा एमाले सांसद किरणकुमार साहले पनि उठाएका छन् । उनले छिमेकी बंगलादेशमा हिन्दूहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्‍य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org