ताजा समाचार

नयाँ शक्ति र फोरमबीच एकताको आधार

 

नयाँ शक्ति निर्माणको विषयलाई लिएर चर्चामा रहेका डा. बाबुराम भट्टराई अहिले नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकताको विषयलाई लिएर चर्चामा छन् । कुनै समय ससंदको ठूलो पार्टीको उपाध्यक्षको हैसियतमा रहेर देशको कार्यकारी प्रमुखसमेत बनिसकेका भट्टराई अहिले किन आफ्नोभन्दा कम राजनीतिक हैसियत र क्षेत्रीय राजनीतिबाट उदाएका नेता उपेन्द्र यादवसँग पार्टी एकीकरण गर्न खोज्दैछन् ? पच्चीस वर्ष माओवादीमा प्रचण्डसँग एउटै कमिटीमा रहेर राजनीतिक यात्रा पारगरेका भट्टराईले एक्कासि माओवादी पार्टी त्यागेसँगै उनले सबैको ध्यान खिच्न भ्याएकै हुन् । पार्टी छाड्नुपर्दाको पीडा उनलाई पक्कै छ । त्यस कारण पनि उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर शक्ति आर्जन गरी माओवादी छाड्दाको पीडा कम गराउन चाहान्छन् । शक्तिमा आउनकै लागि पनि उनले, भौगोलिक हिसाबले सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मधेस र त्यही क्षेत्रबाट उदाएको सङ्घीय समाजवादी फोरमसँग पार्टी एकीकरण गर्नु उपयुक्त देखे ।

हुन त फुटमा जति स्वार्थ हुन्छ जुटमा त्यो भन्दा कैयौँ गुणा बढी स्वार्थ लुकेको हुन्छ । जुटेर अघि बढे देशको राजनीतिक समस्या समाधानका लागि उनीहरुको जुट वरदान सावित हुन्छ । तर, शक्ति आर्जन र सत्ताकै लागि गरिन लागेको हो भने त्यो स्वयं बाबुराम र उपेन्द्रका लागि मात्र हैन देशका लागि नै घातक बन्छ ।

 

 

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच पार्टी एकताको विषयमा ८ वटा राजनीतिक मुद्दा पनि मिल्छ ।
१. प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह
२. बहुभाषिक नीति
३.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
४. पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद
५.अधिकारसहितको सङ्घीयता
६.सङ्घीय न्यायपालिका
७.राज्यका सबै अङ्ग समानुपातिक
८. राष्ट्रिय पहिचानको मान्यता । 

यी मुद्दाहरु हेर्दा पार्टी एकीकरण हुने आधार त छ । तर, शक्ति बाँडफाँडलगायत अन्य भित्री पाटो एकीकरणका लागि बाधक बन्न सक्छ । पार्टी एकीकरण भयो भने पनि उनीहरु एकढिक्का भएर अघि बढ्छन् भनेर विश्वास गर्ने कुनै आधार भेटिँदैन । किनभने अहिलेसम्म नेपाली राजनीति सत्ता र स्वार्थभन्दा माथि उठ्न सकेको छैन ।

दुई पार्टीका अहिलेका केही राजनीतिक मुद्दामाथि विश्लेषण गर्दा नयाँ शक्ति र फोरमबीचको एकताले देशलाई केही हदसम्म निकास दिन पक्कै सहयोग पुग्छ । अधिकांश राजनीतिक मुद्दाहरु मिलेका कारण पनि उनीहरुको एकता आवश्यक छ । हुन त नेपालका राजनीतिक दलहरु सिद्धान्तलाई भन्दा सत्ता र शक्तिलाई केन्द्रमा राखेर राजनीति गर्छन् । अहिलेसम्म जनताले गरेको अनुभव त्यही हो । तर, पनि भट्टराईले पहाडी मूलको नेतृत्व र यादवले तराई–मधेसवासीको मन जितेर आउँदो निर्वाचनमा आफ्नो राजनीतिक हैसियत उकास्न दुवैले चाहेका हुन सक्छन् । त्यसपछि उनीहरुलाई आफ्नो मुद्दा लागू गराउन पनि सजिलो हुन्छ ।

विभिन्न मिडियामा पनि पार्टी एकीकरणकै चर्चा छ । ‘हावा नचलि पात हल्लिदैन ।’ दुई नेताबीच एकीकरणको विषयमा केही सल्लाह भएर नै एकीकरणको विषयले चर्चा पाएको हुनुपर्छ । मुख्य कुरो शक्ति बाँडफाड नै हो । त्यहाँ कुरो नमिल्न सक्छ । भट्टराई र यादवबीच मात्र हैन वरियताका क्रमको सिनियर रहने भनेर मधेसी मूलका नेताहरुबीच समेत विवाद आउन सक्छ । माओवादीमा रहँदा पटक–पटक पदको बार्गेनिङ गरेका भनिएका भट्टराई र उपेन्द्रको नेतृत्वमा पार्टी एकीकरण गरेर दोस्रो बरियतामा रहन चाहँदैनन् । उता आफूले चलाउँदै आएको पार्टीको नेतृत्व यादवले सहजै भट्टराईलाई सुम्पिएर आफू दोस्रो वरियतामा नबस्न सक्छन् । यसअघि एमाले उपाध्यक्ष रहेका र लामो सङ्घर्षपूर्ण राजनीतिक पृष्ठभूमि बोकेका नेता अशोक राई पनि पार्टी एकीकरण मार्फत् त्यही पार्टीसँग मिल्न आएका छन् ।

वाह्य शक्ति राष्ट्रसँगको निकटताबाट हेर्ने हो भने भट्टराईलाई भारत र यादवलाई चीन निकट मानिन्छ । भट्टराईले भारत परस्तको आरोप जति खेप्नुपरेको छ, यादवले त्यति छैन । यी दुवै नेताको राजनीतिक बुझाइमा भने समानता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org