ताजा समाचार

ललितपुर महानगरका पराजित एमाले उम्मेदवार हरिकृष्ण अदालत गए

ललितपुर, १८ जेठ । ललितपुर महानगरका पराजित उम्मेदवार एमालेका हरिकृष्ण व्यञ्जनकार अदालत गएका छन् । स्थानीय तहको चुनाव २०७४ मा आफूलाई हराइएको भन्दै ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण अदालत गएका हुन् । व्यञ्जनकारले बुधबार उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका हुन् । मत गणनाकै क्रममा दिइएका पटकपटकका निवेदनहरुको सुनुवाई नभएको ब्यन्जनकारको भनाई छ ।

गणना कार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी मुद्दा दायर गरेका छन् ।

महानगरको वडा नम्बर १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगका कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन विजयी भएर मेयरको कार्यभारसमेत सम्हालिसकेका छन् ।

ब्यन्जनकारले मतगणनामा धाँधली भएको भन्दै अन्तिम गणना बहिस्कार गरेका थिए । महर्जन २४ हजार ६ सय ४२ मत प्राप्त गरी विजयी भएका थिए भने ब्यन्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org