ताजा समाचार

सांसद अर्याल र पूर्वसांसद माझीमाथि अन्तर्घातको आरोप, कारवाही गर्न देउवालाई दबाब

विराटनगर, १० साउन । नेपाली कांग्रेसका सांसद अमृत अर्याल र पूर्वसांसद वीरेन्द्र माझीमाथि कारवाही गर्न माग गरिएको छ । स्थानीय तह चुनावमा आफ्ना पार्टीका उम्मेदवार हराउन षडयन्त्र गरेको आरोपमा उनीहरुलाई कारबाही गर्न पार्टी सभापति शेरबहादुर देउवामथि दबाव परेको छ । असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको प्रमाण भेटिएको भन्दै मोरङका आधा दर्जन युवा कार्यकर्ताले पार्टी सभापति देउवासमक्ष मौखिक उजुरी गरेका छन् ।

विराटनगरबाट गएको युवाहरूको एक टोलीले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा, महामन्त्री डा. शशांक कोइरालालगायतका नेतालाई भेटेर चुनावमा भएको अन्तर्घात र असहयोगबारे जानकारी गराएका हुन् । उनीहरूले त्यस्ता नेताहरूबारे छानविन गरी कारबाही गर्न माग गरेका छन् ।

अर्यालले विराटनगर महानगरलगायत आफ्नो प्रभाव क्षेत्र मोरङ ५ र माझीले बुढीगंगा गाउँपालिकामा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप छ । विराटनगरमा नगरप्रमुख र उपप्रमुखसहित आधादर्जन वडा कांग्रेसले जितेको छ । तर अर्यालको चुनावी क्षेत्र अन्तर्गत पर्ने महानगरका धेरै जसो वडामा कांग्रेसले हारेको थियो । ती क्षेत्रका वडामा संघीय समाजवादी फोरमले जितेको थियो । कांग्रेसको पकडक्षेत्र मानिएको मोरङको बुढीगंगा गाउँपालिकामा लोकतान्त्रिक फोरमले जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा युवालाई उम्मेदवार बनाइनुपर्ने अभियानको नेतृत्व गरेका नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हरि भट्टराईले सांसद अमृत अर्यालले विराटनगर महानगरको चुनावमा पार्टीका उम्मेदवार हराउन लागेको प्रमाण फेला परेको बताए । ‘नगर प्रमुखको उम्मेदवारको मुख्य दावेदारका रूपमा अन्तिम समयसम्म प्रस्तुत भएका अर्यालले टिकट नपाएपछि आफ्नो चुनावी क्षेत्रमा मतदातालाई भड्काउन खोजेको कुरा हामीले पार्टी नेतृत्वलाई जानकारी गराएका छौं’ -भट्टराईले भने । उनले त्यस्ता नेताहरूलाइ कारबाही नगरि पुरस्कृत गरे पार्टीमा अराजकता बढ्नेतर्फ सचेत हुन नेतृत्वलाई सुझाव दिएको बताए । जवाफमा देउवाले त्यसबारे बुझेर अघि बढ्ने बताएका थिए ।

चुनावमा पार्टीका उम्मेदवारलाई नसघाएको आरोप लागेका सांसद अर्याल पार्टीको केन्द्रीय सदस्य र मन्त्री बन्ने दौडमा छन् । सांसद अर्यालको असहयोगका बाबजुद पनि नगरप्रमुखमा भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की अत्यधिक मतान्तरले विजयी भएको कतिपयले नेता तथा कार्यकर्ताको भनाइ छ ।

मत परिणाम सार्वजनिक भएपछिको विजयोत्सवमा सांसद अर्यालको सक्रिय सहभागिता देखिएन । उनी पार्टीका नेता बिमलेन्द्र निधीसँग विराटनगरको ट्राफिकचोक नजिक विजय र्यालीमा सहभागी भए र केही बेरपछि उनीसँगै काठमाडौं फर्किएका थिए । विराटनगरमा केही कांग्रेस कार्यकर्ताले अर्याललाई कालोमोसो दल्ने हल्ला फैल्याएपछि उनी सुरक्षित तवरमा केही समय र्यालीमा सहभागी भएर फर्किएको बताइएको छ ।

मोरङको रंगेली, बेलबारी, पथरी शनिश्चरे नगरपालिकामा लगायतका ठाउँमा भएको पराजयमा कांग्रेसकै अन्तर्घात मुख्य कारण रहेको भन्दै त्यसबारे पनि छानविन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org