ताजा समाचार

पत्याउनुहुन्छ ! १० वर्षमा कुमारीको आम्दानी ५० लाख

काठमाडौं, १८ असोज । बसन्तपुरस्थित कुुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपैयाँ आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न बाणिज्य बैंक तथा विभिन्न संघ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् ।

यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागू गरिएको छ । मतिनाले कुमारीमा नियुक्त भएको १० वर्षमा ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी हुन् । देवी देवता र मन्दिरलाई प्राप्त हुने दक्षिणा तथा भेटी पारदर्शी र व्यवस्थित गर्ने गराउने क्रममा नेपाल सरकारले ल्याएको नीतिबमोजिम यो व्यवस्था गरिएको हो ।

गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौंडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पिठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ ।

पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन नीति सरकारद्धारा स्वीकृत भएपछि मुलुकका चल्तीका देवस्थलमा पनि यो प्रक्रिया लागू गर्न लागिएको हो । कुमारी मतिना शाक्य महाअष्टमीका दिन पदमुक्त भएपछि उनको स्थानमा मञ्जुश्री नकमहाविहारकी तृष्णा शाक्य नयाँ कुमारीमा नियुक्त भएकी छन् । रजस्वला हुने उमेर र अवस्था आएपछि कुमारी फेर्ने प्रचलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org