ताजा समाचार

काठमाडौँमा शनिबारदेखि महाभेला शुरु हुने

काठमाडौँ, २२ मंसिर । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहनेछ ।

उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार महिला र युवाको समान अवसर’ भन्ने नारा तय गरिएको छ । उनान्सत्तरिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर गर्न लागिएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।

तीनदिनसम्म सञ्चालन हुने उक्त भेलाले मानव अधिकार दिवसको सन्दर्भमा हुने प्रभातफेरीमा सहभागिता जनाउनेछ । मुलुकमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिबीच छलफल हुनेछ । देशमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागीले धारणा राख्ने कार्यक्रम छ ।

महाभेलाका राष्ट्रिय संयोजक लिली थापाले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेकाले युवा तथा महिलाको अधिकार प्राप्तिमा समस्या देखिएको बताउनुभयो । मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउनका लागिसमेत छलफल गरिनेछ ।

कुपण्डोलस्थित शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जालले महाभेलाको सचिवालयका रुपमा कार्य गरिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रूपमा महाभेलाको आयोजना गर्दै आएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org