ताजा समाचार

समानुपातिक मतगणनाः एमाले अगाडि, प्रमुख तीन दल मात्रै थ्रेसहोल्ड कटाउन सक्नेमा

काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा पहिलो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा पनि अग्र स्थानमा रहेको छ । प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाले तीब्रता पाएको छ । अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ ।

त्यस्तै प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । सोमबार दिउँसो सम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीमात्रै देखिएका छन् ।

तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्‍याउन मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी अघि बढिरहेको छ। राजपाले २.२ प्रतिशत मत ल्याएको छ। समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ११ लाख ६४ हजार ७४० मत गन्दा एमालेले सबैभन्दा बढी ३६.३ प्रतिशत मत ल्याएको छ। नेपाली का‌ंग्रेसले भने ३४.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसासर एमालेले ४१ सीट पाएको छ भने कांग्रेसले ३९ सिट पाएको छ ।

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १६.७ प्रतिशतमात्रै छ। माओवादीले अहिलेसम्म १९ सिट पाएको छ । थ्रेसहोल्ड कायम रहेको अवस्थामा तीन प्रतिशत मत नल्याउनेको ११ सिट पनि तीन ठूला दलले बाँडेर लिनेछन्। यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।

समानुपातिक तर्फको मतपरिणामः
१. नेकपा एमालेः ४२२६८७
२. नेपाली कांग्रेसः ४०४४७१
३. नेकपा माओवादी केन्द्रः १९४११३
४. राष्ट्रिय जनता पार्टी नेपालः २५४७२
५. राष्ट्रिय प्रजातन्त्र पार्टीः २०९७६
६. विवेकशील साझा पार्टीः २०८०६
७. संघीय समाजवादी फोरम, नेपालः १७८५४
८. नयाँ शक्ति पार्टी नेपालः १६६४७
९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८९०१
१०. राष्ट्रिय जनमोर्चाः ६५४२
११. एकल चिन्ह हसिया ताराः ४८२०
१२. नेपाल मजदुर किसान पार्टीः ३१८८
१३. संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चः ३०१८
१४. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी): २६४५
१५. नेपाली जनता दलः २२९१
१६. देशभक्त जनगणतान्त्रिक मञ्च, नेपाल : १९२५
१७. राष्ट्रिय जनमुक्ति पार्टीः १३४१
१८. मंगोल नेशनल अर्गनाइजेशनः १०३०
१९. आमूल परिवर्तन मसिहा पार्टी नेपालः ६३७
२०. जनशक्ति नेपालः ४८१

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org