ताजा समाचार

५ मतले पराजित भएका प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । कांग्रेस युवा नेता प्रदीप पौडेल वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ आशा कोइरालासँग ५ मतले पराजित भएपछि कांग्रेसले पुनः मतदान गर्न माग गरेको हो ।

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गरेर त्यस प्रदेशसभाभित्र पर्ने विभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मत गणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दाबी गरेको छ ।

‘५ मतपेटिकामा २३२८ मत मुचुल्का गरिएकोमा मणना गर्दा २३७० मत पाइएकाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः प्रष्ट भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी र निर्वाचन अधिकृतको संरक्षणमा बिधि र प्रक्रिया मिचेर धाँधली गरी ४२ फर्जी मत राखिएकोमा यसलाई नेपाली कांग्रेस अस्वीकार गर्छ ।’

कांग्रेसले म्याग्दे ७ को अमरज्योति आवि ग्यारसिंह, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आवि ‘क’, व्यास ५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे ४ को मीन निवाविसहित ५ मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।

यस क्षेत्रबाट १६ हजार ६ सय ४६ मतसहित माओवादीकी आशा कोइराला विजयी भएकी थिईन् । आशाले प्रदीप पौडेललाई ५ मतले पराजित गरेकी थिईन् । पौडेलले १६ हजार ६ सय ४१ मत पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org