ताजा समाचार

अब देशभर १३५ मन्त्री हुने, केन्द्र र प्रदेशमा कति-कति मन्त्री ?

काठमाडौं, २८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । अब मुलुक संघीय गणतान्त्रिक परिवेशमा गएपछि पहिलो पटक नयाँ संरचना अनुसार सरकार गठन हुनेछ । केन्द्र र प्रदेशमा गरी थरीका सरकार हुनेछन् । भने स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले पनि स्थानीय सरकार सञ्चालन गरिरहेका छन् ।

विगतको ईतिहासलाई समाप्त गर्दै नयाँ संरचना र परिवेशका आधारमा सरकार गठन हुनेछ । राजनीतिक संक्रमणकालको फाईदा उठाउँदै जम्बो मन्त्रीपरिषद् गठन गर्दै आएका दलहरुलाई अब भने संविधानले नै बन्देज लगाएको छ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने प्रावधान संविधानमा उल्लेख गरिएको छ । जसका कारण अब भने दलहरुको मनलाग्दी प्रवृति हट्नेछ ।

अहिले रहेको ३० वटा मन्त्रालयलाई मर्ज गरेर सानो आकारमा बनाईछ । त्यसको गृहकार्य भईरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सरकारले अत्यावश्यकबाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए । ‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालयमध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद् छ ।

नयाँ सरकारका मन्त्रालय कस्ता ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका केही उच्च सरकारी अधिकारीले भने सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्तावको आधारमा अहिलेकै सरकारले नयाँ मन्त्रालयको संख्या र संरचना घोषणा गर्न सक्ने बताएका छन् । सरकारले प्रस्ताव गरेका नयाँ मन्त्रालयहरुमाः

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
जलस्रोत तथा ऊर्जा मन्त्रालय
उद्योग, वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
गृह मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन, विज्ञान तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
महिला, सामाजिक न्याय तथा संघीय मामिला
शिक्षा तथा सञ्चार मन्त्रालय
पर्यटन, नागरिक उड्डयन तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१५ मन्त्रालयको प्रस्तावतत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत नेतृत्वको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रीय सरकारमा १५ मन्त्रालय राख्ने प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अहिले पनि मन्त्रिपरिषद्को प्रशासन समितिमा विचाराधीन रहेको छ ।

मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि थप अध्ययन गर्न उपप्रधानमन्त्री कमल थापा संयोजकत्वको ‘मन्त्रिपरिषद् प्रशासन समिति’लाई जिम्मा दिएको थियो । समितिका सदस्यहरूले उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org