ताजा समाचार

पाँचवटा दल मात्रै राष्ट्रिय पार्टी बन्दै, फोरम र राजपाले पनि ३ प्रतिशत कटाउने

काठमाडौं, २८ मंसिर । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणनाको कार्य अन्तिम चरणमा पुगेको हो । अहिलेसम्म देशभरमा ६० जिल्लामा मतगणना सम्पन्न भईसकेको निर्वाचन आयोगले जनाएको छ ।

अब १७ जिल्लाको परिणाम आउन बाँकी छ । अहिलेसम्म करीब ७५ प्रतिशत भन्दा बढी मत गणना भईसकेको छ । ८० लाख मत गणना हुँदा आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ ।

अहिलेसम्मको गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ । समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्न पाउने कानूनी प्रावधान छ ।

राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसदमा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिटेको छ ।

समानुपातिक तर्फ अहिलेसम्मको गणनामा एमालेले २७ लाख २३ हजार ४ सय ९०, कांग्रेसले २६ लाख २५ हजार ४ सय ७५ र माओवादी केन्द्रले १० लाख ९१ हजार ८ सय १५ भोट ल्याएका छन् । यी दलहरुबाहेक ३ प्रतिशतको सीमा कटाउन सक्नेमा संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी रहेका छन् ।

निर्वाचन आयोगले गणना नसकिदैं कुन कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने जनाएको छ । तर, अनौपचारिक रुपमा आयोगका अधिकारीले राजपासम्मले राष्ट्रिय पार्टी बन्ने बताएको छ ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । समानुपातिक तर्फ ४ देखि ५ प्रतिशत हाराहारीमा मतबदर हुने अनुमान गरिएको छ । त्यस अनुसार ३ प्रतिशत मत पुर्‍याउन दलले ३ लाखभन्दा थोरै बढी मत ल्याउनुपर्ने देखिन्छ ।

समानुपातिकको सिट बाँडफाँड गर्दा ३ प्रतिशत भन्दा कम मत ल्याएका राजनीतिक दलको मतको गणना हुनेछैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिटको वितरण हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउने छैनन् । तर, न्यूनतम ३ प्रतिशत पुर्‍याउनले ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

प्रत्यक्ष तर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा २ दशमलव २५ प्रतिशत ल्याएको छन् । उक्त दलले ३ प्रतिशत पुर्‍याए राष्ट्रिय पार्टी बन्न सक्छ । तर, प्रत्यक्ष तर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा २ दशमलव २६ प्रतिशत हराहारीमा मत ल्याइसकेको छ । उक्त दलले समानुपातिकमा ३ प्रतिशत पुर्‍याए समानुपातिकबाट प्रतिनिधित्व त पाउने छ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org