ताजा समाचार

दरबारमार्गको डेजाभु क्लबमा तोडफोडपछि कार्यक्रम आयोजक २ जना पक्राउ

काठमाडौं, २८ मंसिर । बुधबार राती काठमाडौं दरबारमार्गमा रहेको डेजाभु नाइट क्लवमा तोडफोडको मामिलामा कार्यक्रमका आयोजकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डिजे मार्समेलोले प्रस्तुति दिने भनिएको कार्यक्रममा उनी उपस्थित नभएपछि आक्रोशित बनेका दर्शकहरुले तोडफोड गरेका थिए । तोडफोडका कारण क्लबमा क्षति पुगेको छ ।

प्रहरीले कार्यक्रमका आयोजक रितेश मारवाडी र राजीव महर्जनलाई पक्राउ गरेको छ । ठगीको मुद्दामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एससपी रवीन्द्र धानुकले जानकारी दिए । क्लबका सञ्चालक राम गिरी भने फरार रहेका छन् । धानुकले उनको पनि खोजी भइरहेको जानकारी दिए ।

दुई हजार दर्शक अँट्ने क्षमता रहेको क्लब डेजाभुमा करिब ७ हजार टिकट बिक्री गरिएको प्रहरीको भनाई छ । एउटा टिकटको मूल्य २५ सयदेखि ५ हजारसम्म राखिएको थियो । ‘ठगी मामिलामा हामीले आयोजकहरुलाई पक्राउ गरेका छौँ,’ धानुकले भने, ‘क्षमताभन्दा बढी टिकट बिक्री गरेको पनि पाइएको छ । यसबारे अनुसन्धान गरिरहेका छौँ ।’

डिजे मार्समेलो नेपाल आए पनि बिरामी भएको कारण अन्तिम समयमा कार्यक्रम रद्द गर्नुपरेको थियो । प्रहरीका अनुसार उनी होटल द्वारिकामा आराम गरिरहेका छन् । मार्समेलोले आफ्नो आधारिक फेसबुक पेजबाट आफूलाई ज्वरो आएको र डाक्टरको सल्लाह अनुसार कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै माफी मागेका छन् ।

http://news-nepal.com/707982/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org