ताजा समाचार

म्यादी प्रहरी मृत्यु प्रकरणः छानबिन टोली कालिकोट पुगेपछि तीन दिनदेखिको कर्फ्यु हट्यो

कालीकोट, १० पुस । कालीकोटमा तीन दिनदेखि लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाट नै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो । सरकारको उच्चस्तरीय छानबिन टोली सोमबार कालिकोट पुगेसँगै सदरमुकाम मान्ममा लगाइएको कर्फ्यु पनि हटाइएको हो । समितिले आजैदेखि छानबिन सुरु गर्नेछ।

नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीय नागरिकसँग छलफल गरी समितिले घटनाबारे जानकारी लिने र थप अनुसन्धान गर्ने बताइएको छ। कर्फ्यु हटेसँगै मान्म बजारमा मानिसको चहलपहल सुरु भएको छ। सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org