ताजा समाचार

प्रचण्डको बोलीमा नारायणकाजीको ब्रेक, ‘ओली र प्रचण्डबीच आलोपालो गर्ने सम्झौता भएको छैन्’

गोरखा, १० पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको बोलीको खण्डन गरेका छन् । अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको प्रचण्डले बताईरहेका बेला नेता श्रेष्ठले त्यस्तै कुनै सम्झौता नभएको दाबी गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा १ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको बताएका हुन् । निर्वाचन परिणाम आएपछि पहिलो पटक गोरखा पुगेका श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको बताए ।

‘आलोपालो नेतृत्व भन्नुको मतलव सधैं एकल नेतृत्व हुँदैन आलोपालो जानुपर्छ भनेर असाध्यै सैद्धान्तिक र नीतिगत कुराकानी भएको हो’, श्रेष्ठले सोमबार गोरखामा भने, ‘त्यसलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको भन्ने अर्थमा बुझ्न हुँदैन।’

अहिले निर्वाचनमा वामगठबन्धनलाई प्राप्त जनादेशभित्र वामआदेश पनि रहेको तर्क गर्दै यसलाई पार्टी एकताको वाम आदेशका रुपमा पनि लिनुपर्ने उनले बताए। ‘त्यसैले पार्टी एकताको घोषणा छिटोभन्दा छिटो गर्ने र एकीकृत पार्टी बन्ने प्रतिवद्धता हाम्रो छ’ श्रेष्ठले भने, ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकता हुन्छ। किनभने, एकीकृत पार्टीले सरकार संचालन गर्नु सबैभन्दा राम्रो हुन्छ। तर सरकार गठनको संवैधानिक र कानूनी प्रक्रिया पूरा भैसक्दा पनि पार्टी एकताको घोषणाको बिन्दूसम्म पुगिएन भने सरकार गठन गर्न रोक्नु हुँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org