ताजा समाचार

ठमेलपछि पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध, यहाँ पार्किङ गर्नुहोस्

काठमाडौं, ११ पुस । पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको हो । यसअघि काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति मन्दिर परिसरमा पनि सवारी निषेध गरेको हो ।

विश्व सम्पदा सूचीमा रहेको पशुपतिमा श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्न यस्तो गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने, ‘विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि यो आवश्यक देखियो ।’

यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न पाउँथे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठेरो हुने गरेको थियो । ‘मानिसहरु आध्यात्मिक चिन्तनको हिसाबले जाने भएकाले त्यहाँ अनावश्यक गाडीहरु लिएर जाँदा समस्या देखियो,’ खनालले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’

शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पासः
शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ । त्यस्तै पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।

‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने । यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपति क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

बनकाली र उमाकुण्डमा पार्किङको व्यवस्थाः
मंगलबारबाटै बनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । गाडी पार्किङको लागि बनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ । ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट बनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन । फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति) तर्फको बाटो प्रयोग गर्नुपर्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org