ताजा समाचार

छोरी, श्रीमती, बुहारीलाई सांसद् बनाउँदा माओवादी हेडक्वार्टरमा नेताहरुबीच हात हालाहाल

काठमाडौं, १५ पुस । समानुपातिक सांसद्को विषयलाई लिएर माओवादी केन्द्रका नेताहरुबीच हात हालाहाल भएको छ । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको हो । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएपछि शुक्रबार परिस्थिति असहज बनेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो । सधैंजस्तो शुक्रबार पनि केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए । उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर पसल थापेर बसेकालाई सांसद बनाउने ? तपाईंहरुले गरेको के हो ? यही हो नेतृत्व ? नामावली सच्याउनुस् भनेको थिएँ । तर झक्कु सुवेदीले तपाईंले भनेर हुँदैन, उहाँहरुको पनि दुःख छ, अब सच्चिदैन भनेपछि विवाद बढेको हो ।’

उनले नेताहरु पैसामा बिकेको आरोप लगाएपछि विवादले उग्ररुप लिएको थियो । दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए ।

सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए । तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org