ताजा समाचार

एमाले नेताको अगुवाईमा अर्काकी श्रीमती भगाएको आरोपमा एक दम्पतीमाथि कालोमोसो दलेर गाउँ निकाला

मोरङ, १६ पुस । मोरङमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई गाउँ निकाला गरिएको छ ।

एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । उनीहरुले दोस्रो बिहे गरेर गाउँ–समाजमा नराम्रो असर परेको भन्दै एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरि गाउँ निकाला गरिएको हो । दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन् ।

विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ। कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन् ।

ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन् । विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन् ।

यसरी भएको थियो घटनाः
रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो ।

सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन्। चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए । केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन् । गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो ।

शुक्रबार ठाकुरदम्पतीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहबरमा छलफल सुरु भयो । छलफलमा सबैले अर्काकी श्रीमतीसँग प्रेमविवाह गरेर राजकुमारले गाउँको थिति बिगारेको निष्कर्ष निकालियो । त्यसपछि नेता ठाकुरकै अगुवाइमा दुवैलाई मोसो दलेर जुत्ताको माला लगाएर लखेट्दै गाउँ निकालिएको थियो ।

विवाहित जोडीलाई मोसो दलेर एक किलोमिटरजति लखेटेर गाउँ निकाला गरेको देखेपछि अन्य गाउँलेले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले तुरुन्त घटनास्थलमा पुगेर पीडितको उद्धार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org