ताजा समाचार

समानुपातिक सूचिमा नेताका श्रीमती देखि गर्लफेण्डसम्मको लस्कर, को को छन् सूचीमा ?

काठमाडौं, १६ पुस । समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचनको सिट बाँडफाँडमा राजनीतिक दलहरुबीच भाँडभैलौ मच्चिएको छ । आफुलाई लोकतन्त्रवादी, र पारदर्शिता जनाएको बताउने गरेका राजनीतिक दलहरुभित्र यतिबेला सिट बाँडफाँडमा भाँडभैलो नै मच्चिएको हो ।

राजनीतिक दलहरुले नेताका गर्लफ्रेन्डदेखि श्रीमतीसम्मलाई समानुपातिकको सूचिसहित निर्वाचन आयोगमा बुझाएपछि नेताहरुबीच हात हालाहाला तथा कुटाकुट समेत भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको थियो । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका असन्तुष्ट नेताहरुले भने कार्यालयमै तोडफोड समेत गरेका थिए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४० तथा माओवादी केन्द्रले १५ सिट पाउनेछ । त्यस्तै राजपा र संघीय समाजवादी फोरमले ७÷७ सिट पाउनेछन् । राष्ट्रियसभाको अध्यादेशलाई देखाउँदै निर्वाचन आयोगले आधिकारिक रुपमा सिट बाँडफाँड गरिसकेको छैन ।

एमालेबाट २ जनामात्र पुरुष सांसद बन्नेछन् । जसका लागि २० भन्दा धेरै लबिङमा छन् । तर, एमालेबाट दलित तथा मुस्लिम पुरुषले अवसर पाउने सम्भावना छ । एमालेबाट महिलातर्फ भने ठूला नेताका श्रीमती र आफन्तहरु समेत समानुपातिक सूचिमा छन् ।

उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसी थापा, शंकर पोख्रेलकी श्रीमती सुजिता शाक्य, पार्टीको निर्वाचन विभागका प्रमुख सोमनाथ प्यासी समानुपातिकमा रहँदा उनकी बहिनी प्रभा कोइराला, कृष्णगोपाल श्रेष्ठकी श्रीमती विना श्रेष्ठ, सुवास नेम्वाङकी बहिनी विजय सुब्बा समानुपातिकमा सूचीमा छन् । त्यस्तै माओवादी केन्द्रमा पनि धेरै नेताका श्रीमती समानुपातिक सूचीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल नै समानुपातिक सूचीमा छन् । माओवादीका नेता वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीमगर, देब गुरुङकी श्रीमती यशोदा सुवेदी, हितमान शाक्यकी श्रीमती अमृता थापामगर, तेजप्रसाद ओलीकी श्रीमती जुनकुमारी रोका, शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी समानुपातिकमा छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड र श्रीमती मञ्जु खाँड दुवै जना समानुपातिक सूचिमा छन् । त्यस्तै राजपा नेपालका नेता शरदसिंह भण्डारीकी प्रेमिकाका रुपमा चिनिने निर्जला राउतलाई जसरी पनि समानुपातिक सांसद बनाउन पार्टीभित्र लबिङ सुरु गरिसकेका छन् । यसअघि पनि उनले निर्जलालाई सांसद बनाएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org