ताजा समाचार

सरकारले २५ सय भन्दा बढी लाइसेन्स खारेज गर्दै, कतै तपाईको पनि परेन् ?

काठमाडौं, १६ पुस । सरकारले २५ सय भन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा बढी लाइसेन्स खारेज हुन लागेका हुन् । लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनबाट खुलेपछि खाजेर गरिन लागेको हो । ‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘त्यसरी लाइसेन्स दिने र लिनेहरु समेत कारबाहीको भागीदार हुने छन्।’

सबैभन्दा धेरै सुकेधारास्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारी गरिएको थियो। विभागले नै गरेको आन्तरिक छानबिनमा सो कार्यालयबाट पछिल्लो ८ महिनामा जारी भएका २६ सयमध्ये धेरै लाइसेन्स नक्कली कागजपत्रका आधारमा वितरण भएको खुलेको छ।

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारले यातायात व्यवस्था कार्यालयका प्रमुख सुन्दर भट्टराईसहित चार जना कर्मचारीलाई पक्राउ गरेको छ । शाखा अधिकृत यमलाल ढकाल, नासु यादब पौडेल, खरिदार सुमन पोख्रेल आयोगको हिरासतमा छन्। राजधानीका अन्य तीन कार्यालयमा पनि विभागले छानबिन गरिरहेको छ। अन्य कार्यालयहरुमा भने थोरै मात्र लाइसेन्स नेपालीकरण गरिएको थियो।

सम्बन्धित देशमा बसेको प्रमाण, दुतावासको पत्र लगायतका कागजपत्र चाहिने भएपनि सबै नक्कली बनाएर विचौलियाहरुसँग मिलेर कर्मचारीहरुले बिदेशी लाइसेन्स नेपालीकरणको नाममा लाइसेन्स जारी गर्दै आएका थिए। त्यसवापत प्रतिलाइसेन्स २५ हजारदेखि ८० हजार रुपैयाँसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org