ताजा समाचार

देउवाले आफु विरुद्ध लागेका रामचन्द्र, शशांक लगायतका नेतालाई बालुवाटार बोलाए

काठमाडौं, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन् । अनौपचारिक छलफलका लागि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरूलाई बालुवाटार बोलाएका हुन् ।

बैठकमा बाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । कांग्रेस एमाले–माओवादीको वाम गठबन्धन तोडाएर माओवादी केन्द्रलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचारहरू आइरहेका बेला कांग्रेसका नेताहरूबीच छलफल भएको हो ।

कांग्रेसका सबै नेताहरु प्रक्रिया पुरा गरेर जतिसक्दो चाँडो सरकार हस्तान्तरण गर्ने विषयमा एकमत भएका छन् । उनीहरुले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राष्ट्रिय सभाको चुनाव गराउनुपर्ने ठहर गरका छन् ।

बैठकले माघ २५ गतेसम्ममा राष्ट्रियसभाको चुनाव सम्पन्न गराउने गरी अगाडि बढ्न सरकारलाई सुझाब दिएको छ । उक्त चुनावअघि नै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने भएकाले साझा र राष्ट्रिय व्यक्ति छानेर प्रदेश प्रमुख नियुक्ति गर्न बैठकले प्रधानमन्त्री देउवालाई सुझाब दिएको छ ।

प्रदेश सासंदलाई शपथ खानका लागि प्रदेश प्रमुख अर्थात गभर्नर नियुक्ति अनिवार्य भएको बैठकको निष्कर्ष छ । प्रदेश राजधानी तोक्ने विषयमा भने अन्य दलहरुसँग पनि सहमति खोज्नुपर्ने नेताहरुले बताएका छन् । हतारमा अस्थायी राजधानी तोक्दा जनता पनि असन्तुष्ट हुन सक्नेतर्फ बैठकमा छलफल भएको थियो ।

पार्टीले चुनावमा बेहोरेको पराजयको बारेमा समिक्षा गर्न केन्द्रिय समिति र महासमिति बैठक जति सक्दो चाँडो बोलाउने विषयमा सभापति देउवा लगायत सबै शीर्ष नेताहरु सहमत भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org