ताजा समाचार

गोली प्रहारबाट घाइते व्यवसायी तथा एमाले नेता पौडेलको मृत्यु, मनोज पुनले लिए जिम्मा

बुटवल, २१ पुस । बुटवलमा एक व्यवसायीमाथि गोली प्रहारभएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षीय बसन्त पौडेल (बलु) को ज्यान गएको छ । गोली लागेर गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पताल ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन भट्टराईका अनुसार स मिलमा गएका पौडेलमाथि बिहान करिब सबा ११ बजे गोली प्रहार भएको थियो।

हत्या गरिएका व्यवसायी बसन्त पौडेल

डिस्कोभर मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए। मोटरसाइकलमा आएका उनीहरु गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरु भएको डिएसपी पवन भट्टराईले बताए।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका मुख्य अभियुक्त मानिएका पुन फरार रहेका छन् । एमालेका स्थानीय नेता समेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको भन्नेबारेमा गम्भीर भएर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org