ताजा समाचार

रक्सी पिएर कार्यालयभित्रै पिसाव फेर्ने कार्यालय प्रमुख पक्राउ

 

उदयपुर, २१ पुस । नेपाल हो जे पनि यहाँ हुन्छ । आजकल आम मानिसको मुखबाट यस्तै वाक्य बढी सुनिन्छन् । सरकारी कार्यालय होस् वा गैरसरकारी सबैठाउँको अवस्था लाजमर्दो छ । नीति नियम छ तर कार्यालय गर्ने निकाय आफै पालना गर्दैन् । सरकारी कार्यालय भनेको धुम्रपान, मध्यपानबाट टाढा राख्नुपर्ने हो ।

यस्ता पदार्थहरु सेवन गरेका मानिसलाई कार्यालय प्रवेशको ढोका नै बन्द गर्नुपर्ने हो । तर कार्यालय प्रमुख नै यस्तो हर्कतमा लागेपछि कसको के नै जान्छ र । उदयपुरको एक सरकारी कार्यालयको घटनाले हामी सबै नेपालीको शिर नै झकाउन बाध्य बनाएको छ । रक्सी सेवन गरेर कार्यालयभित्र पिसाब फेरेको आरोपमा एक कार्यालय प्रमुख पक्राउ परेका छन् ।

उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना रक्सी सेवन गरेर कार्यालयभित्रै पिसाब फेरेको आरोपमा पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।

कँणेलका अनुसार यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका शिवकुमार तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय आउने गरेको दैनिक गुनासो आउन थालेपछि छड्के अनुगमन गरेर पक्राउ गरिएको बताए ।

अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने गरेको गुनासो गरेकी थिइन् ।

न्यौपानेले कार्यालय प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्यवहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी कँडेललाई कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छिन् ।

मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् । ८ जनाको दरबन्दी रहेको यो कार्यालयमा ३ जना कर्मचारी कार्यारत छन् । स्थापना भएदेखि नै तिम्सिनाले कार्यालय प्रमुखको जिम्मेवारी सञ्चालन गर्दै आएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org