ताजा समाचार

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएकाे निवार्चन अायाेगकाे भनाइ

काठमाडौ ।आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन निर्वाचन आयोगले सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि सञ्चालन गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापन कार्यक्रम बिहिबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको व्यवस्थापनमा प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नगरिदिन आग्रह गरे ।

नेपालको संविधानको पूर्ण कार्यान्वय गर्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको बताए ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकगरी प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभाका लागि प्रतिनिधित्व हुने निर्वाचनको मतगणना कार्य जटिल भएकाले मत गणनाका लागि केन्द्रले प्राविधिक टोली खटाउने सोच बनाएको जानकारी दिए ।

प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसमेत २३ जनाको सहभागिता छ ।

सातै वटा प्रदेशका ती जिल्लामा मतदान केन्द्र रहने छ । उक्त निर्वाचनका लागि चार वटा मतपत्रको नमूना आयोगले तयार पारेको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार फरक फरक रहेकाले मतदान केन्द्र पनि फरक फरक राख्न आयोगले गृहकार्य गरिरहेको प्रवत्ता ढकालले बताए ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहने छन् ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ तथा प्रदेशसभाका ५५० सदस्य गरी दुई हजार ५६ जना मतदाता रहनेछन् ।

नेपालको संविधानअनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वा्चित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघीय संसद्ले पूर्णता पाउने छ ।

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते बुधबारका दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org