ताजा समाचार

कांग्रेस बैठकः देउवाको कडा आलोचना

काठमाडौं । नेतृत्वको गलत निर्णय र कार्यशैलीका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको कडा आलोचना भएको छ । कान्तिपुरमा समाचार छ ।

निर्वाचनपछि पहिलोपटक विहीबार बोलाईएको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरुले सरकार र पार्टी दुवै मोर्चामा नेतृत्व असफल भएको भन्दै पार्टी सभापति देउवाको आलोचना गरेका थिए । देउवा पक्षीय सदस्यहरुले भने नेतृत्वको बचाउ गरेका थिए ।

बरिष्ठ नेता पौडेलले देउवा प्रधानमन्त्री भएका बेला पार्टीलाई ‘नोक्सान’ मात्रै पुग्ने गरेको बताउँदै फेरि सरकारको नेतृत्वको आकांक्षा नराख्न आग्रह गरे । ‘उहाँ (देउवा) को ग्रहदशाले पटक–पटक प्रधानमन्त्री बन्ने तर पार्टीका लागि भने सधै प्रत्यूपादक हुने गरेको छ । ज्योतिषले सातपटक प्रधानमन्त्री हुन्छ भनेका छन् भनेर उहाँले सार्वजनिक रुपमा भन्नुभयो,’ बैठकमा पौडेलले राखेको भनाई उत्धृत गर्दे स्रोतले भन्यो, ‘देउवाजी जतिपटक प्रधानमन्त्री हुनुभयो । त्यतिपटक पार्टीलाई क्षति पुगेको छ । अब यो हुन दिन हुन्न । पार्टीलाई बचाउनु पर्छ ।’

पौडेलले त्यसो भन्दा देउवाले मेरो ग्रहदशाले तपाईले चुनाव हारेको चाहिँ होइन है भन्दै व्यंग्य गरेका थिए । पौडेलले निर्वाचनमा पार्टी पराजित हुनुमा नेतृत्वको भूमिका मुख्य कारण रहेकाले जिम्मेबारी पनि त्यहिँ रुपमा लिनुपर्ने बताए । उनले पार्टी बैचारिक र संगठानात्मक रुपमा पार्टीभित्र आमुल परिवर्तनको आवश्यकता भएको बताएका थिए । पार्टी विधान विपरित केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति बनाईएको भन्दै त्यसको खारेजीको माग पनि पौडेलले राखे ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति केन्द्रीय कार्यसमिति पछिको दोस्रो महत्वपूर्ण निकाय हो भने संसदीय समिति चुनावमा उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो । यी दुवै समितिमा देउवाले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य मनोनित गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले अपबादबाहेक यसअघि समानुपातिक तर्फबाट सुविधा लिईसकेलाई नदोर्‍याउने निर्णय गरेविपरित सभापतिले समानुापतिकमा दोर्याएको भन्दै पौडेलले त्यसको पनि विरोध गरे । प्रतिनिधिसभाको समानुपातिकको अन्तिम सूची पठाउँदा कसैलाई पनि नदोर्‍याउन उनले माग गरे ।

देउवाले निर्वाचन समीक्षाका लागि पछि छुट्टै बैठक राख्ने भन्दै बैठकको सुरुमा राष्ट्रियसभाको निर्वाचनको बिषयमा मात्रै छलफल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । देउवाले निर्वाचनका समीक्षाका लागि लामो छलफल आवश्यक रहेको भन्दै राष्ट्रियसभा निर्वाचनपछि छुट्टै बैठक बोलाउने बताएका थिए ।

बैठकमा पहिलोपटक लिखित एजेण्डा प्रस्तुत गरेका देउवाले सदस्यहरुको आक्रोश मत्थर पार्न महासमिति बैठक बोलाईने भनी आश्वस्त समेत पारेका थिए । तर, देउवा निकट केही केन्द्रीय सदस्यहरु बाहेक बैठकमा कसैले पनि उक्त औपचारिक एजेण्डामा छलफल गरेनन् । अधिकांश सदस्यहरु निर्वाचनमा हारको बिषय उठाएर नेतृत्वको आलोचनामा उत्रिएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचनको हारको बिषयमा गम्भीर छलफल प्रारम्भ भएको बताए । निर्वाचनको लामो समीक्षाका लागि अर्को केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यही बैठकबाट महासमितिको तिथी र स्थान समेत तोकिने उनले बताए ।

बैठकमा नेताहरु चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, प्रदिप पौडेल, कल्याण गुरुङ देउवाप्रति सबभन्दा बढी आक्रमक बनेका थिए । नेतृत्वको असफलताकै कारण निर्वाचनमा पार्टीको हार भएको भन्दै केन्द्रीय सदस्य भण्डारीले नेतृत्वले राजनीतिक भ्रष्ट्राचार गरेको आरोप लगाए । उनले सबै कुरा गुमाईसकेपछि राष्ट्रियसभा निर्वाचनमा गम्भीर हुनुपर्छ भन्नुको कुनै औचित्व नरहेको भन्दै निर्वाचन समीक्षामै आफ्नो समय खर्चिएका थिए । ‘निर्वाचन परिणामले नेतृत्वको असफलता प्रमाणित भईसकेको छ, यसको समीक्षा गरेर अघि बढ्नुपर्छ ।’

बैठकमा केन्द्रीय सदश्य नवीन्द्रराज जोशीले विधान विपरित बनाइएका संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्यहरु धनराज गुरुङ र प्रदीप पौडेलले निर्वाचनमा पार्टीको पराजय नभएको भन्दै सभापति देउवाको बचाउमा उत्रिएका केन्द्रीय सदस्यहरुको कडा प्रतिवाद गरेका थिए ।

‘यो निर्वाचनमा कांग्रेसको हार भएको होइन भनेर निष्कर्ष निकाल्न खोजियो भने कांग्रेस पतनको बाटोमा जान्छ,’ पौडेलले भने, ‘समानुपातिक तर्फ पनि कांग्रेस प्रतिस्पर्धी एमालेभन्दा ४५ हजार मतले पछि छ । प्रत्यक्षमा तेस्रो पार्टी छ । पार्टीले नेतृत्व गरेको सरकारका बेला चुनाव हुँदा पनि मुर्धन्य नेताहरु हार्नु भएको छ । यो भन्दा ठुलो पार्टीका लागि क्षति के हुनसक्छ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org