ताजा समाचार

प्रदेश २ मा राजपा र फोरमबीच ‘हैसियत’ को विवाद, हैसियतको कुरा खतरा हुने राजपाको चेतावनी

काठमाडौं, २४ माघ । प्रदेश २ को सरकार गठनका विषयमा संघीय समाजवादी फोरमले नयाँ विकल्प खोज्न थालेको छ । राजपाले हैसियतभन्दा बढी पदमा दाबी गरेको भन्दै प्रदेश २ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले नयाँ विकल्पमा पनि छलफल सुरू गरेको हो ।

मंगलबार फोरम र राजपाबीच भएको वार्तामा उपेन्द्र यादवले ठूलो दलको हिसाबले संघीय समाजवादी फोरमको नेतृत्वमा राजपा सम्मिलित सरकार गठनको प्रस्ताव राखेका थिए । उनले स्थिर र मजबुत सरकारका लागि अन्य दललाई पनि सहभागी र सहमतिमा लिएर अघि बढ्ने बताएका थिए ।

यादवले फोरम, राजपा र कांग्रेस सम्मिलित सरकारको संकेत गरेका थिए । तर राजपा नेताहरुले भने मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेको थियो । राजपाले आफ्नो हैसियत बिर्सेको भन्दै फोरमले नयाँ विकल्पमा छलफल थालेको हो । राजपाले मुख्यमन्त्रीमा आफ्नो गर्दै आधा आधा कार्यकाल बाँड्ने बटमलाइन प्रस्तुत गरेको थियो ।

राजपाको यो प्रस्तावप्रति उपेन्द्र यादव असहमत रहेको स्रोतका दावी छ । त्यस्तै राजपाका तर्फबाट यदि मुख्यमन्त्री फोरमले लिने हो भने शक्तिसाली चार मन्त्रालय र सभामुख आफूले पाउनुपर्ने अडान राखिएको थियो । राजपाको यही अडानलाई फोरमले हैसियतभन्दा बढी भनेको हो । १०७ सदस्यीय प्रदेशसभामा फोरमको २९ सिट छ भने राजपाको २४ सिट छ । तेस्रो स्थानमा रहेको एमालेको २१, कांग्रेसको १९ सिट छ ।

माओवादी केन्द्रको ११, संघीय समाजवादी पार्टी नेपालको एक र स्वतन्त्र एक सिट छ । स्वतन्त्रले फोरमलाई साथ दिएका छन् । राजपाले हैसियतभन्दा बढी मागेको भन्दै फोरमले लगाएको आरोपको राजपाका नेताहरूले भने प्रतिवाद गरेका छन् ।

राजपाका एक नेताले भने, ‘प्रदेशसभामा चार पाँच सिट बढी जित्दैमा फोरमको हैसियत राजपाभन्दा माथि छैन । मधेसको समग्र लोकप्रिय मतमा राजपा फोरमभन्दा अगाडि छ । संघीय संसदमा पनि फोरमको भन्दा राजपाको सिट बढी छ भने हाम्रो हैसियत कसरी कम भयो ?’

हैसियतको सम्बन्धमा दुई पार्टीबीच वाकयुद्ध सुरु भए पनि राजपासहितको मधेसवादी गठबन्धनको सरकारलाई नै पहिलो प्राथमिकतामा राखिएको फोरमका एक प्रभावशाली नेताले बताए । राजपाले पनि सम्रग मधेशमा आफू पहिलो पार्टी भएको भन्दै फोरमलाई गलाउने प्रयास गरिरहेको छ । फोरमले भने कांग्रेस र माओवादीसँग मिलेर वा एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थालेको स्रोतको दाबी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org