ताजा समाचार

प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए, ओली किन गएनन् ?

 

काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाएका छन् । आजभन्दा २३ वर्षअघि आजकै दिनबाट सुरु भएको जनयुद्ध दिवस विभिन्न टुक्रामा विभाजित माओवादीहरुले मनाईरहेका छन् । जनयुद्धको सुरुवात गरेको माओवादीको प्रमुख घटक माओवादी केन्द्रले पेरिस डाँडामा मनाएको हो ।

भ्रातृ संस्था वाइसिएलले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक मुसुमुसु हाँस्दै काटेका थिए। तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो। बर्थ डेमा जस्तो मैनबत्ती फुकेर ननिभाई प्रचण्डले चुचुरो नबिगारी छेउतिरबाट केक काटेर टुक्रा बाँडेका थिए।

०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो। प्रचण्डले काटेको केक खान जनयुद्ध सुरु गर्ने बेलाका नेताहरु भने उपस्थित थिएनन्। उनीहरु यतिबेला टुक्रा टुक्रामा विभाजित माओवादीको नेतृत्व गरिरहेका छन् ।

मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भइ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्। त्यस्तै सीपी गजुरेलले पनि जनयुद्ध दिवसलाई फरक ढंगले मनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org