ताजा समाचार

आफुलाई प्रधानमन्त्री दाबी गर्दै केपी ओली आज शीतलनिवास जाने तयारीमा

काठमाडौं, २ फागुन । आफुलाई प्रधानमन्त्रीको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली शितलनिवास जाने भएका छन् । प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै ओलीसहित वाम गठबन्धनका नेताहरु शीतलनिवास जाने भएका हुन् ।

आयोगले बुधबार नै राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार भएका हुन् । आयोगका पदाधिकारीहरु शीतलनिवासबाट बाहिरिनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने छन् । बुधबार पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ । तर, यसबीचमै आयोगले नतिजा बुझाएमा नेताहरु बैठककै वीचमा शीतलनिवास जानेछन् ।

प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेबारे मंगलबार ओली र प्रचण्डवीचको ‘वान टु वान’ वार्तामा छलफल भएको एमालेका एक नेताले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरुलाई भोलिसम्मको समय दिएका छन् । नाम सच्याउन भनिएका तीन दलमध्ये माओवादी र राजपाले मंगलबार नै बुझाइसकेका छन् । अब कांग्रेसले मात्रै नामावली बुझाउन बाँकी छ ।

दलहरुले अन्तिम नामावली बुझाएको लगत्तै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ । अन्तिम परिणाम घोषणा गरेको ७ दिनभित्र राष्ट्रपतिलाई बुझाउने पर्ने संवैधानिक व्यवस्था छ । तर, आयोगले आज नै शीतलनिवास जाने गृहकार्य गरेको छ ।

संविधानतः कुनै एक दलको बहुमत भए उक्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनेलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको बहुमत छ । साथै दुबै दल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत छन् । केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेलगत्तै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बहिर्गमनले औपचारिकता पाउने छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org