ताजा समाचार

कर्मचारीले नमानेपछि नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैं मुद्दा दर्ता गर्दै

काठमाडौं, २ फागुन । पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले मुद्धा दर्ता गर्ने भएका छन् । सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता भण्डारी आफैंले दर्ता गर्ने भएका हुन् ।

सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक-दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो । आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलग-अलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

कार्यसम्पादन मुल्याकंन किर्ते गरेको विषयमा छानविन गरी दोषीलाई कारवाही प्रक्रिया अगाडी बढाउनु भन्ने सर्वोच्चको आदेशपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी प्रमुख प्रकाश अर्याल लागिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org