ताजा समाचार

अनिल झाले श्रीमतीलाई जसरी पनि मन्त्री बनाउन अडान लिएपछि राजपामा विवाद

जनकपुरधाम, २ फागुन । श्रीमतीलाई मन्त्री बनाउन अडान लिएपछि राजपाभित्र विवाद सिर्जना भएको छ । प्रदेश २ को सरकार निर्माणको गृहकार्यमा रहेको राजपाभित्र विवाद बढेको हो । अध्यक्ष मण्डलका सदस्य अनिल झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डा. डिम्पल झालाई मन्त्री बनाउनुपर्ने अडान राखेपछि अध्यक्षमण्डलका सदस्यहरुबीच विवाद बढेको हो ।

राजपा र फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।

यसैक्रममा पार्टीबाट मन्त्रीहरु चयनका लागि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारीले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए भने अन्य दुई जना सदस्य अनिलकुमार झा र राजकिशोर यादवले समानुपातिकलाई पनि समावेश गर्नुपर्ने अडान राखेका थिए ।

झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डिम्पललाई पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि विवाद चरमोत्कर्षमा पुगेको हो । पार्टीका नेताहरु भन्छन्, ‘समानुपातिकमा समावेश भएकाहरुका लागि त्यो नै ठूलो अवसर हो तर, प्रत्यक्ष जितेकालाई मात्र मन्त्रीमा पठाउनुपर्ने हुन्छ ।’

श्रीमतीलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि राजपाको तर्फबाट मन्त्रीको टुंगो लाग्न सकेको छैन । अध्यक्षमण्डलका संयोजक ठाकुर, सदस्यहरु महतो, यादव र भण्डारीले प्रत्यक्ष निर्वाचितलाई नै प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org