ताजा समाचार

माओवादी समानुपातिक सूचीः पहिलो नम्बरमा रहेका हितराज आउट, चूडामणि खड्का इन

काठमाडौं, २ फागुन । नेकपा माओवादी केन्द्रले समानुपातिक सूचि सच्याएर निर्वाचन आयोगलाई पठाएको छ । माओवादीले निर्वाचित हुने पुरुषको कोटामा हितराज पाण्डेको नाम हटाएर चूडामणि खड्काको नाम राखेको छ ।

यसअघि माघ २९ गते माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचीमा खस आर्य पुरुष क्लस्टरमा १ नम्बरमा रहेका हितराज पाण्डेको नाम समावेश थियो । तर आयोगले अपांग क्लस्टरबाट कोही नपरेको भन्दै सूची सच्याउन माओवादीलाई आग्रह गरेको थियो ।

त्यसपछि माओवादीले पाण्डेको नाम काटेर खड्काको नाम पठाएको हो । खड्काको द्वन्द्वकालमा खुट्टामा चोट लागेको थियो । ‘निर्वाचन आयोगले घाइते, अपाङ्ग नभएको भनेर फिर्ता पठाएपछि मेरो नाम समावेश गरेको जानकारी पाएको छु’ खड्काले भने ।

पाण्डे र खड्का दुबै गोरखाका हुन् । २०७० सालमा गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित पाण्डे यसवर्ष गोरखा २ मा नै पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी कमाण्डर बनेका थिए । गत वर्षसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका खड्का हाल माओवादीको गोरखा जिल्ला इन्चार्ज छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org