ताजा समाचार

व्यापारीलाई धम्क्याएर १५ लाख माग्ने युवक पक्राउ

तनहुँ,१४ फागुन ।ब्यास नगरपालिका ४ का हार्डवेयर व्यवसायीसँग १५ लाख रुपैयाँ माग गर्दै धम्की दिने युवकलाई प्रहरीको पक्राउ गरेको छ ।

धम्कि दिने युवक रिसिङ गाउँपालिका १ झापुटारका तिलबहादुर सारु हुन् । उनले व्यवसायी भुपाललाई पटक पटक टेलिफोन गरी १५ लाख रुपैयाँ मागे । सारुले केही दिनदेखि लगातार टेलिफोन गरी रकम माग्ने गरिरहेका थिए ।

मेनरोडस्थित भुपाल हार्डवेयरका सञ्चालक आलेले रकम नदिएपछि सारुले शुक्रबार राति हार्डवेयर पसल अगाडि पार्किङ गरेको गाडीको सीसा पनि फुटाइदिए । दुई दिनभित्र १५ लाख रुपैयाँ नदिए पसल, गोदाम, घर र गाडी बम हानेर उडाइदिने धम्कीसमेत दिए ।

पटक पटक टेलिफोन गरी रकम मागेपछि आलेले प्रहरीलाई जानकारी गराए । प्रहरीले सारुलाई पक्राउ गर्नका लागि आलेलाई नै प्रयोग गर्‍यो ।आलेले २ लाख रकम बुझाउने भन्दै सारुलाई व्यास नगरपालिका ३ र व्यास नगरपालिका ५ शान्तिनगर जोड्ने झोलुङ्गेपुलमा बोलाए ।

आलेलाई पठाउनुअघि पाटन र शान्ति नगरमा सादा पोशाकका प्रहरीहरु परिचालन भइसकेका थिए ।फोन गर्ने व्यक्तिले भने बमोजिम नै आलेले पैसा भएको झोला पुल नजिकै राखी फर्किएपछि एक व्यक्ति उक्त स्थानमा गई पैसा भएको झोला टिपेर भाग्न खोज्दा नजिकै लुकेर बसेका प्रहरीले उनलाई पक्राउ गर्‍यो । पक्राउ पर्ने ब्यक्ति उनै धम्की दिने सारु थिए ।

पक्राउपछि २६ वर्षीय सारु मगरको शरीर खानतलास गर्दा प्रहरीले आलेलाई धम्क्याउन प्रयोग भएको सिमकार्ड समेत फेला पार्‍यो ।पक्राउ परेपछि सारुले आफूले नै आलेलाई फोन गरी रकम माग्दै धम्की दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेशराज जोशीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org