ताजा समाचार

माझीगाउँ एकीकृत बस्ती निर्माणकाे लागि सहयोग नजुटेपछि ऋणका लागि बैंक भाैतारीदै श्वेता

 सिन्धुपाल्चाेक,९ चैत, सिन्धु । मेलम्चीको गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले छोटो समयमै एकीकृत बस्ती निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरेपछि जिल्लाकी बुहारी (नायक स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी) श्वेता खड्काले चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित झ्याँडी किनारको माझीबस्तीमा एकीकृत बस्ती निर्माणको अगुवाइ र सुरुवात गरिन् ।

तर यतिबेला बस्ती निर्माण सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गर्न श्वेतालाई सकस परिरहेको छ । श्वेताले बस्ती निर्माणका लागि आर्थिक संकलन गर्न सकिरहेकी छैनन्, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ‘ऋण’ का लागि धाइरहेकी छन् उनी ।

दश महिनाअघि श्वेता श्री फाउण्डेसनले एकीकृत बस्ती निर्माणको काम सुरु गरेको चौतारा साँगाचोकगढी –१४ स्थित माझीगाउँमा यतिबेला धमाधम घर संरचना ठडिँदै छन् । पुनर्निर्माणको सरकारी अनुदानकै भरमा एकीकृत बस्तीको काम अगाडि बढिरहेको छ ।

आइतबार झ्याँडीबस्तीमा पुग्दा भारतीय कामदारहरु धमाधम घरका गाह्रो लगाइरहेका थिए, स्थानीयहरु पालोपर्म गरेर डीपीसीमा जुटिरहेका थिए । ‘यही रफ्तारमा जाँदा जेठसम्म निर्माण सम्पन्न हुन्छ’, स्थानीय अगुवा एवं शिक्षक लालबहादुर श्रेष्ठ भन्दै थिए ।

निर्माण सुरु भएको एक वर्ष बित्नै लाग्दा १३ घरको मात्र गाह्रोको काम सम्पन्न भएको छ, छानो छाउन बाँकी नै छ । हालसम्म ३४ वटा घर डीपीसी गरिएका छन् ।

एकीकृत बस्ती निर्माणको जिम्मा पाएको सिन्धु क्रियटिभ मेलम्चीले आर्थिक अभावपछि काम नगर्दा नसक्दा बस्ती निर्माणले गति लिन नसकेको निर्माण पक्षकाे भनाइ छ ।

बस्ती बनाउने ठेक्का लिएको सिन्धु क्रियटिभ मेलम्चीले ‘मोविलाइजेसन’ खर्च नै छैन भनेर काममा ढिलाइ गरेपछि माझी समुदाय आफैं बस्ती निर्माणमा जुटेको शिक्षक श्रेष्ठले जानकारी दिए ।

झण्डै ६० घर निर्माण हुने यस बस्तीमा प्रति घर ७ लाख भन्दा बढीको लागत अनुमान छ । तर श्वेता श्री फाउण्डेसनले रकम जुटाउन सकेको छैन । ठेकेदारले काम नगरेपछि अहिले स्थानीय झ्याडी टोल सुधार समिति निर्माण गरेर बस्ती निर्माणको काम भइरहेको फाउण्डेशनका परियोजनाका व्यवस्थापक यज्ञराज कार्की बताउँछन् ।

जिल्लाका भूकम्पपीडितलाई सरकारले ९० प्रतिशत छुटमा सहुलियत काठ दिने भनिए पनि माझीगाउँलाई उपेक्षा गरेको स्थानीयको गुनासो छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org