ताजा समाचार

के गर्लान रवि लामिछाने, प्रेस काउन्सिलका पदाधिकारिलाई जथाभावी लेख्ने दुईजना पक्राउ

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका पक्षमा वकालत गरेका मानिसहरु समातिदा उनले के गर्छन, त्यो अब चासाेकाे बिषय बन्न पुगेको छ ।

काठमाडौं १३, असार । पछिल्लोसमय बढेको सामाजिक संजालको प्रयोग र न्युज २४ बाट प्रशारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा उभिएर फेसबुकमा लेखेको स्टाटसले दुईजनालाई प्रहरीकहाँ पुर्याएको छ ।

नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिनुका साथै आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।

लामिछानेले आफ्ना फ्यानहरुलाई आवेगमा आएर नबोल्न, जथाभावी नलेख्न सचेत नगराएकै भरमा उनीहरु कानुनको दायरामा परेका छन् । लामिछानेलाई उनको पक्षमा उर्लिएको जनसागरको कुनै महत्व थिएन वा उनी लिडर बन्न नजानेर निडर बन्ने कोसिस गरे त्यो भने समयले नै देखाउला । तर, यतिबेला लामिछानेका पक्षमा उभिएका कयाै मानिसहरु कानुनी दायरामा पर्ने देखिएको बेला उनले यसको जिम्मा लिने आट गर्लान त ?

प्रहरीका अनुसार उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्‍याउने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा स्टाटसहरु लेखेका थिए ।

मंगलबार प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले बताए ।

उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम यस्तो कार्यमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजायँ वा दुबै सजाय हुने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org