ताजा समाचार

नेकपाको संसदीय दलको कार्यालय अब एकै ठाँउमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘ने क पा’ गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ ।
नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए ।

नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ । पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिए ।
नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ्ग र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाको दलका नेता दिनानाथ शर्माको कार्यकक्ष हालसम्म पूर्व माओवादीकै संसदीय दलको कार्यालयमा रहेको छ ।
अहिले प्रमुख सचेतक गुरुङ, राष्ट्रियसभाको दलका नेता शर्माको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा निर्माण भइरहेको छ । त्यसबाहेक पूर्व माओवादीका संसद्का लागि पिजन हल र केही कर्मचारीका लागि पनि कार्यकक्ष तयार भइरहेको शाखा अधिकृत सिंहराज रुम्बाले जानकारी दिनुभयो । प्रचण्ड नेकपाका अध्यक्ष भएको हुनाले उनका लागि एउटा छुट्टै कार्यकक्ष हुनुपर्नेमा हालसम्म उनका लागि कार्यकक्ष बनाउने योजना बनाइएको छैन ।

हाल दुईटै संसदीय दलमा सात जना कर्मचारी कार्यरत छन् । पूर्व एमालेका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ जना सांसद् छन् । त्यसका लागि एकजना कम्प्युटर अधिकृत, एकजना कार्यालय सहायकसहित चारजना कर्मचारी कार्यरत छन् भने पूर्व माओवादीका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६५ जना सांसद् रहेका छन् । त्यसका लागि एकजना शाखा अधिकृतसहित तीनजना कर्मचारी त्यहाँ कार्यरत रहेका छन् ।

ने क पाका २१३ जना संसद रहने गरी संसदीय दलको कार्यालय एकै ठाउँमा आएपछि छजना कर्मचारीको व्यवस्थापन गरे पुग्ने बताइएको छ । एकजना शाखा अधिकृत, एकजना कम्प्युटर प्राविधिक, एकजना कार्यालय सहायक र तीनजना कार्यालय सहयोगी भए पुग्ने कार्यालय सहायक नारायणप्रसाद खनालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org