ताजा समाचार

सर्वोच्चका पूर्वन्यायाधीश वकिलबाटै ठगिएपछि…

काठमाडाैं । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् । आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । ‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने ।

क्याम्पस सञ्चालनका लागि एक वर्षअघि मञ्जुश्री एकेडेमीनामक कम्पनी स्थापना गरिएको थियो । पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अध्यापकलगायत ६९ जना मिलेर सुरुमा कलेज चलाउने र पछि त्यसलाई कानुन विश्वविद्यालयका रूपमा विकास गर्ने सहमति भएको थियो । टिमको नेतृत्वकर्तामध्ये एक अधिवक्ता सिवाकोटी पनि थिए । पैसा उठाउने मुख्य जिम्मा उनैले लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org