ताजा समाचार

डीपीएल क्रिकेटः काठमाडौंलाई हराउँदै अत्तरिया फाइनल प्रवेश

काठमाडौं । धनगढी प्रिमियर लिगमा बुधबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै सीवाईसी अत्तरिया फाइनल प्रवेश गरेको छ । अत्तरियाले काठमाडौंलाई ४१ रनले पराजित गरेको हो ।

फाप्ला क्रिकेट मैदानमा १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८.३ ओभरमा अल आउट भयो । अल आउट हुनुपूर्व काठमाडौंले ६९ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि गौरभ तमोरले २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११—११ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ सन्नी पटेलले ३, र कमलसिंह ऐरी र भुवन कार्कीले समान २—२ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र आठ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । त्यस्तै, सन्नी पेटलले २८ रन बनाउदा शुभेन्दु पाण्डेले १६ रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौंका सूर्य तामाङ र अंकित दबासले समान २—२ विकेट लिए ।

विजेता टिम अत्तरिया फाइनलमा पुग्दा काठमाडौंलाई दोस्रो क्वालिफायरको खेल खेल्दै फाइनल पुग्ने अवसर छ । महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुदैछ । दुई टिमबीचको विजेतासँग काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशका लागि खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org